Sunday, November 28, 2010

बिचरा हरि > - सीता बराल लिस्वन, पोर्चुगल

जब मनभरि कुराहरु खेलेर छटपटि हुन्छ हरि वियर पिएर डंग भुईको ओछ्यानमा पल्टन्छन । उसले यसरी टन्न वियर पिउन लागेको धेरै भएको छैन । भोली विहान देखि हिजोको जस्तै एकै नासको उहि दैनिकी सुरु हुने गरेको छ । विहानको चियाको चुस्कीसंग आजको दिन काम खोज्न कहाँ जाने भन्ने पिर पर्न थाल्छ । अरु साथीहरुको जस्तै कहानी र पिडा छ उसंग ।  कामको लागी साथीहरुलाई नभनेको र नपुगेको ठाँउ कुनै छैन तर हातमा लाग्यो शुन्य भएको छ । काम खोज्न जाँदा तलुवा फाटेका दुई तीन जोर जुत्ता फाल्न नसकेर ढोकाको पछाडी तिर राखेका छन् ।
     विहान पखको चिसो सिरेटोले हरिको निन्द्रा खुल्छ । विस्तारै टाउको उठाएर वरपर सुतेका साथीहरुलाई हेर्छन । कामबाट आएका साथीहरु थकाईले मस्त निदाएका हुन्छन् । हरि विस्तारै उठेर टेवलमा भएको चुरोटको बट्टा र लाईटर लिएर झयाल तिर जान्छन् । झ्याल बाहिर बस्ने ठाँउ नभएको हुनाले टाउको बाहिर निकाल्दै चुरोटको सर्को तान्छन् । कोठाको सिधा कालेचोकको उकालोमा पर्ने पर्खालमा धेरै भाषामा केही लेखेर रंगाइएको छ । त्यसलाई दुई तीन जना फोटोग्राफरले कोण मिलाएर आफ्नो क्यामरामा कैद गर्न खोज्दैछन् । धेरै भाषामा लेखिएको त्यस पर्खालको एक लाइनमा लिस्वनः सहनशिलताको शहर भनि लेखिएको स्पष्ट देखिएको छ । चुरोटको लामो सर्को तान्दै हरि मनमनै सोच्छन् । धन्य छ हामी नेपालीहरुको सहनशिलता । उद्धेश्य प्राप्ती नहुने बेलाको अन्तिम घडीसम्म संघर्ष गरिरहन्छौ । हुन त यो पोर्चुगलमा सहनुबाहेक अरु विकल्प के नै छ र ? यो कुनै व्यक्तीको गुण नभई बाध्यता बनेको छ यहाँ । दुःखलाई सुखमा बदल्ने सपना देखेर परदेशिनु भनेको झन निस्कनै नसक्ने दुःखको दलदलमा फस्नु रहेछ भन्ने अनुभव हुन्छ हरिलाई ।  
    झ्यालबाट आएको हावाले टेवलमा भएको  मेट्रो-पोष्ट पत्रिका पल्टाउछ । उनलाई अस्ति भरखरै मात्र घोडा चोकमा निकै सनसनीपूर्ण बनाएको त्यस पत्रिकामा भएको भनिएको झुटा समाचारको याद आउछ । नेपाली समाजमा हुने गरेका नयाँ समाचारहरु घोडा चोकबाटै थाहा हुने गरेका छन् । लिस्वनमा घोडा चोक हाम्रै गाँउघरको चिया पसल भन्दा फरक छैन जस्तै लाग्छ । त्यही ठाँउबाट यो झुटा समाचार फैलाइएको थियो । पछि बुझ्दै जादा कामको कन्ट्याक मिलाइदिए वापत कमिसन खान पल्केका दरिद्र सोचाइ भएकाहरुले यस्तो समाचार फैलाएका रहेछन् । घोडा चोकमा यो समाचार सुनेर हरिका साथी प्रकाश निकै बेर रोएका थिए । हरिले यि सबै दुःखका कुराहरु विर्सन खोज्छन् र बाहिर निस्कन्छन् । चोकको केही पर गल्लीमा भएका धेरै रेष्टुरेन्टहरुमा काम सोध्न जान्छन् । खोज्दै जाँदा एउटा नेपालीको पसल भेटीन्छ । उनलाई मनमा ढुक्क हुन्छ । कमसेकम नेपालीहरुलाई त हामीहरुको दुःख थाहा हुन्छ । दुख बुझेर काम दिए भने बाँकी सबै मिलाउदै जानु पर्ला भन्ने सम्झदै कामको बारेमा सोध्छन् । धेरै साथीहरु पुगेर फर्कीसकेका कुरा त्यही कसैबाट थाहा हुन्छ । उनले अरु केही नसोधी छेउमा उभिएका नेपालीको हात समातेर दाई मलाई पैसा चाहिदैन काम दिनुहोस्, जस्तो पनि गर्छु भन्दै चिच्याउछन् । त्यहीबेला कसैले हरिको गालामा झापड लगाउछन् । झस्केर हेर्दा बेलुका टन्न पियर सुतेका हरि, छेउमै सुतेका श्यामदाइको हात समातेर चिच्याई रहेका थिए ।


Wednesday, November 10, 2010

टुक्रा टुक्रा मन ।> भीम के सी कमल


गाउँमा जीबन असहज भो, बाध्यताले खाडी आएँ
प्राण प्यारा आफन्तलाई, सम्झि रुन छाडी आएँ

उता काफल पाक्यो होला, चरी यता नाच्नु पर्ने
चुलबुले सब सपनाहरु, देउरालीमा गाडी आएँ

यता सुन फल्छ भन्ने, मृगतृष्णा पछि लाग्दै
प्रणयको पोथरालाई, पैतालाले माडी आएँ

उतै शितल उपबन, उखरमाउलो मात्र यता
खुला आकाश चहार्ने , निसासिदो झाडी आएँ

सिंगो मान्छे रहुँ भन्ने, हृदयको चाहना हो
नसकेर 'भीम'को मन, तोला मासा बाँडी आएँ

Monday, November 8, 2010

देवकोटाको मुनामदन र हामी प्रवासी

-सीता बराल
हालः पोर्चुगल, लिस्वन

हे मेरी प्यारी वचन तिम्रो गढ्दछ मनमा
के गर्छ्यौ मुना यो सास अडछ त्यै पापी धनमा ।।

यो हरफ लक्ष्मीप्रसाद देवकोटाद्वारा झ्याउरे लयमा लेखिएको मुनामदन खण्डकाब्यबाट लिइएको हो । मुनाले मदनलाई अस्ताउन लागेको जुन सरह की बुढी आमा र आफूलाई एक्लै पारेर पैसाको लागी भोट नजानु भनि विन्ती गर्दा मदनले बुढीआमाको पाटी र धारा बनाउने इच्छा, थोत्रो घरको जग बलियो बनाउन र मुनाको हातमा सुनको बाला लगाइदिने इच्छा पुरा गर्न पैसा नै चाहिने भएको हुँदा थोरै समयको लागी मात्र भोट गएर पैसा कमाएर ल्याउने र बाँकी जीवन सुखसंग विताउने कुरा यस हरफमा गरेका छन् । प्यारी मुना तिमीले भनेका सबै वचनहरु मेरो मनमा गढेका छन् तर आखिर सबै इच्छाहरु पुरा गर्न पापी धनको नै आवश्यकता पर्ने हुनाले तिमीले मलाई भोट जान नरोक भनि मुनालाई सम्झाएर मदन भोट लाग्छन् । भोटको चिसोले मदन जंगलको बिच बाटोमा विरामी पर्छन । साथीहरुले उनलाई एक्लै त्यही छाडेर जान्छन् । मध्यरातमा मदन छटपटाउदै चिच्याएको नजिकै गाउको भोटे दाइले सुन्छन र के कराएको भनि हेर्न जादा विच जंगलमा एक्लै मानिस छटपटाइरहेको देखेर मदनलाई लिएर आफ्नो घरमा लगी घरेलु उपचार गराई निको पार्दछन् । यता जवान मुनालाई आफ्नो बनाउने सोच लिएर गाउको एउटा गुण्डा उनको पिछा गर्न थाल्दछ । गुण्डाले मदनको बारेमा नराम्रा कुराहरु सुनाउछ तर मुनाले विश्वास गर्दिनन् । मुनाको मन परिवर्तन गर्न नसक्ने भएपछि उसले अन्तिम उपाय स्वरुप मदन मरेको नक्कली चिठी पठाउछ । त्यो चिठी पढेपछि मदनको नराम्रो खवरले मुना मुर्छा पर्छिन र नब्यूझदै संसारबाट बिदा लिन्छिन भने बुढी आमा अर्धचेतन अवस्थामा मदनलाई कुरीरहेकी हुन्छिन । यता मदन भोटे दाइको घरमा उपचार पाएर निको हुन्छन् । एकदिन बिहान घर नजिकै काग कराउछ । काग कराएको शुभ संकेत होइन भनेर भोटे दाइसंग विदा मागेर मदन घर तिर लाग्छन् । घर पुग्दा प्राणप्यारी मुनाको मृत्यु भैसकेको हुन्छ भने उनी आएको खवर सुनेर आमाको पनि मृत्यु हुन्छ । भोट गएर पैसा कमाएर सुन्दर घर र परिवारसंग सुखसंग बस्ने मदनको सपना सिसाको घरझै फुट्न पुग्छ ।
     केही पैसा कमाएर घरको जग बलियो पार्ने र सुखसंग परिवारसंग बस्ने कल्पनामा परदेश लाग्नुपर्ने हामीहरुको अवस्थामा अझै सुधार हुन सकेको छैन । हाम्रा धेरै मदनहरु भरखरै यौवन अवस्थामा प्रवेश गर्दै गरेकी मुना, अस्ताउन लागेकी बुढी आमा छाडेर चुहुने छानो भएको थोत्रो घर सजाउने सपना सहित परदेश लागेका छन् । मदन परदेश लागेको बेलामा मुनाको जवानीमा आँखा लगाई आफ्नो बनाउन अनेक नाटक रच्दै मुनाको मृत्यु हुने अवस्थासम्म पुर्याउने नराम्रो विचारका गुण्डा मानिसहरु पनि हाम्रो समाजमा रहेका छन् । परदेशमा मदनलाई बीच जंगलमा छाड्ने स्वार्थी साथीहरु प्रसस्त भएपनि भोटे दाइ जस्ता राम्रा मन भएका मानिसहरु पनि छन् । समाजमा रहेका सम्पूर्ण सामाजिक आरोह अवरोहको कथा बोकेको यो गिती खण्डकाव्य मुनामदन हामी परदेशीहरुको लागी त झनै प्रिय लाग्दछ । यस काब्यमा भएका मुनामदनका वार्तालापहरुले निकै मन छुन्छन् ।
       विशेष गरि परदेशीएका नारीहरुलाई समाजमा हेर्ने नकरात्मक सोचाइमा अझैपनि परिवर्तन भएको छैन । घरको संघार काटेर परदेशमा संघर्ष गर्नु पक्कै पनि सजिलो छैन । पारिवारिक कर्तव्य सहित सुनौलो भविष्यको गन्तब्यमा हिडिरहेका नारीहरुलाई समाजमा भएका नराम्रा मान्छेहरुद्वारा कुनै न कुनै किसिमबाट हतोत्साह गराउने अनेकन समाचारहरु सम्प्रेषण हुने गरेका छन् । यसरी सुन्दर भविष्य निर्माण हुदै गरेको घरको जग कतै भत्कीने त होइन भन्ने शंका हुन थालेको छ । यस मुनामदन खण्डकाव्यमा भएका भोटे दाइको जस्तै सफा दिल हाम्रो समाजमा हुने हो भने कुनै न कुनै आधारमा मुनामदन जस्तो विछोड सहनु पर्ने थिएन । देवकोटाको मुनामदन खण्डकाब्यको भावार्थको अभिप्रेरणाबाट देश तथा विदेशमा रहने मुना र मदनहरुले समाजमा रहेका राम्रा र नराम्रा मानिसहरुको पहिचान गर्न सकुन् र उनिहरुद्वारा रचिएका कुत्सित योजनाहरुले परिवार तथा समाजमा कुनै असर नपरोस । पारिवारीक विश्वासमा वृद्धी हुदै जाओस । देश तथा विदेशमा रहनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीवहिनीहरुलाई दिपावलीको शुभ कामना ।
                              समाप्त ।
(महाकबि देबकोटाको जन्मजयन्तीको सन्दर्भमा ।)

Sunday, October 31, 2010

नेपालको भन्ने के बांकी रहला

छुट्टै पहिचान बहु जात जाती
भु परिबष्ठित बहु संस्कृती र भाषी
भएको राष्ट्रको स्वरुप संरचना
आज दलहरुको बिषेश मुद्दा भयो ।
 
गरिबीको कारणले न्युन पोषनबाट पनि बन्चित
प्रत्येक बर्खा जनधनको क्षती
सुदुरपश्चिम र बिस्तारबादको धारे नजर बाट सधैं डामिएको सेती कर्णाली
 आज किन चासोको बिषय बनेन ।
 
पछौटे जनताको आवेगमा सधैं गुप्त झटारो मार्दै
राष्ट्रप्रेमी हरुको छालहरुमा सधैं रात राती मै षडयन्त्रको डुंगा तार्दै
सधैं उस्तै तरिकाले रुप बदल्दै
 भन्छौ तिमीहरु देश र जनता कै निम्ति भनेर
यदि देश र जनता कै निम्ति हो भने आज किन
ऐतिहासिक जनआन्दोलनको म्याण्डेट बिरुद्ध राष्ट्रको अखण्डता टुक्रयाइदै छ त
 
इतिहासका काल खण्डहरुमा गल्तीहरु धेरै भइसके
इतिहासले कसैलाई माफी दिने छैन
जनताका आशाहरु अनेकौं छन
प्रत्येक सांझ बिहान गरिबहरुको घरमा नुनको सोझ गरिदेऊ
खाली आश्वासनको बास्नादार भाषण मात्र नछोडी
तीनको गांस बास कपास शिक्षा स्वास्थ्य र रोजगारीको पनि उचित ब्यबस्था गरिदेऊ ।
 
देशमा घुस चोरी बलत्कार जस्ता चीजहरुको बन्द गर
प्रत्येक जात जाती धम्र बण्र लींग हरुलाई समान अधिकारको ब्यबस्था गर
तिनिहरुको हित र राष्ट्रको समुन्नतको लागि संबिधान बनाउने कार्यको थालनी गर ।
 
आज तिमिहरु सबै पराइबाट साचालित छौ भन्नेमा अब कसैलाई कति पनि शंका छैन
दक्षिणतिर बाट चलेको हावाले आज तिमिहरु राष्ट्रको स्वरुप फेर्दैछौ
बर्गीयताको लडाइ बिसर्ी जातीयता तिर हेर्दैछौ
आज तिमिहरु राष्ट्रको संरचना फेरयौ भने
भोली अबश्य देश नै फेर्नेछौ ।
देशको जंगे खम्बा बिसर्ी राष्ट्रको सिमाना फेर्ने छौ
अनि भन तिमिहरु न्ााम संरचना निशान सिमानासबै फेरेपछि
नॆपालमा नेपालको भन्ने के बौकी रहला र
 
पशुपती शर्मा बाग्लुड।जैदी ३ हाल दोहा कतार

Friday, October 22, 2010

साच्चैको आमा (कथा) - सीता बराल

या देवी सर्वभुतेसु, मातृरुपेण सस्थीता,
नम तसै नम तसै नम तसै नमो नमः
पण्डीत बाजेले दुर्गा पाठ गरिरहेका थिए । नजिकै पण्डीतनी बजै हातमा फुलअक्षता लिएर पाठ सुनिरहेकी थिइन । नातिनी भुन्टी हजुरआमाको काखमा बस्दै थालबाट फुललिएर नमस्कार गर्दै मनमनै केही गुनगुनाउदै बसीन । पण्डीत बाजेले पुजापाठ सकेर घिरौलालाई खसीको रुप बनाई बली दिए । भुन्टीले हेरिरहेकी थिइन । हातमा भएको फूलअक्षता देवीलाई चढाइन् र बाबा पल्टीरहेको खाटमा गएर काखमा बसीन । बाबा आज अर्को आमालाई हेर्न जाने भन्नुभएको होइन, छिटो जाउ न भन्दै हात समातेर तानिन । प्रदिपलाई आज साह्रै नरमाईलो अनुभव भइरहेको थियो । उनकी प्यारी सानी परदेश लागेर रमाईलो संग दशै मनाउन नपाएको पाँचौ पटक भईसक्यो । पहिले पहिलेका दशैहरु कसरी गए पत्तै भएन । यसपालि प्रदिपलाई सानु आउछिन र संगै दशैं मनाउने ठूलो आस थियो । विशेष कारणले सानु आउन पाइनन । छोरीको कुरा काटन नसकी मन लागी नलागी उठेर भुन्टीको हात समातेर बाहिर निस्कीए । साइवर नपुग्दै बाटोमा नै सानीको फोन आयो । आज सानीलाई पनि घरको सारै सम्झना आएर साइवरमा बसेर आनन्द संग देखादेख गर्दै कुरा गर्ने भनेर फोन गरेकी रहिछन् । साइवर पुग्ने बेलासम्म एकछिन भुन्टीसंग कुरा गर्न चाहिन । प्रदिपले फोन भुन्टीलाई दिए । आमा अस्तिको जन्मदिन पछि त म कति ठूली भएकी छु नि, बाबालाई सोध्नु त, है बाबा भन्दै बाबा तिर हेरेर टाउको हल्लाइन । अनि नि आमा म सधै हजुरबा हजुरआमा संग बसेर भगवानको पुजा गर्छु, रिता मिसले भन्नुभएको दशैमा भगवानको पुजा गरेर मनमनै केही माग्यो भने भगवानले पुरा गरिदिनुहुन्छ रे, मैले के पो मागेकी छु हजुरलाई थाहा छ==== सानी छोरीको लतपते तोतेबोली सुनिरहन्छिन । साचै नै भुन्टी स्कूल गए देखि धेरै बुझ्ने भएकी रहीछन् । कुराहरु पनि कति धेरै जानेकी । बाबा तिमीले भगवान संग के माग्यौ भनन । सानुले भुन्टीसंग सोधिन । कसैलाई पनि भन्नुहुदैन रे म हजुरलाई भन्छु है....मैले भगवान संग सधै मेरो आमा छिटै घर पठाइदिनु भनेकी छु । अब हजुरको काम छिटै पुरा भएर आउन पाउनु हुन्छ है बाबा ... फेरि प्रदिप तिर हेर्दै बोलिन । प्रदिप केही नबोली टाउको मात्र हल्लाए । आमा यति ठूलो चाडमा त्यहा हजुर मात्र एक्लै हुनुहुन्छ है... भुन्टीले मायालु स्वरले बोलीन । होइन नि छोरी यहा मेरा धेरै साथीहरु छन् । मैले यहा पनि चाडपर्व मनाउछु । होइन होला, ढाटनु हुन्छ , हजुरका कति धेरै साथीले मसंग तिम्रो आमा खोइ भन्दै सोध्छन् । भुन्टीले भनिन । छोरी आज त तिमी र म कम्प्युटरमा हेर्दै कुरा गर्ने है । तिमी कति ठूली भइछ्यौ देख्न पाउने भए । फोनमा जस्तै धेरै कुरा गर्नुपर्छ नि है भुन्टीले हुन्छ भन्दै फोन राखीन । यतिबेला सम्म साइवर पनि आईपुग्यो । प्रदिप कम्प्युटर खोलेर क्यामरा मिलाउन तिर लागे । सानी अगी नै तयार भएर बसेकी रहिछन् । केटाकेटी भनेपछि हुरुक्क हुने सानी आफ्ना आन्तरिक बाध्यताले भुन्टी बर्षकी हुन नपाउदै छाडेर हिडेकी थिइन । भुन्टीलाई आमाको वास्तविक माया कस्तो हुन्छ भन्ने अनुभव थिएन तर सानीलाई भने हरेक क्षणमा आफ्नो मुटुको टुक्रा भुन्टीलाई छाडेर आउनु पर्दाको पिडाले सताइरहन्थ्यो । जन्म दिने आमा बन्ने भाग्य पाइन तर काखमा राखेर हुर्काउन पाइनन न उसका बाल चन्चलपन देख्न पाइन, न मिठो तोतेबोली सुन्दै सुमसुमाउन पाइन । जीन्दगीमा कुनैपनि कुराहरु सोचेजस्तै क्रमबद्ध तरिकाले नहुने रहेछन् । विधिको विधान, भाग्यको चक्कर जान्न नसकिने रहेछ । भुन्टीका चाहना र बालचन्चल पन उनले प्रदिप बाट थाहा पाउनु पर्छ । भुन्टी स्कूल जान थालेपछि आमाका धेरै कुरा गर्छिन रे , घरको भित्तामा रहेको मोनालिसाको फोटो झिकेर आमाको फोटो राख्न लगाइछन् त्यसपछि त जो आएपनि आफ्नो कोठामा लगेर फोटो देखाउने गर्छिन रे == एकपटक कम्प्युटरमा बस्ने दिनमा राम्रोसंग देखादेख गर्न नपाउदै लोडसेडींले गर्दा छोरीसंग बोल्न पाइनन् तर भुन्टीले बाबा संग त्यो को हो नि भनेर सोध्दा तिम्रो आमा हो भन्ने वित्तिकै इन्टरनेट काटियो । पछि भुन्टी स्कूल जाने, यता सानी कामको व्यस्तताले गर्दा लामो समयसम्म भेट हुन सकेको थिएन । त्यसपछि त भुन्टीले जहिले पनि मेरो दुइटा आमा हुनुहुन्छ, एउटा भित्तामा एउटा टि.भी मा भन्ने गर्छिन रे । आज त छोरीसंग धेरै बेर बोल्ने हो भन्ने सम्झदै सानी कम्प्युटरमा बसीन । दुवैतिरको इन्टरनेट राम्रो चल्ने वित्तिकै सानीले छोरीसंग कुरा गर्न चाहिन । भुन्टी भने केही नबोली कम्प्यूटरमा आमालाई देखेर हेरि रहिन । छोरी सन्चै छौं..टीका को को संग लगायौं.... अहिले सम्म कति पैसा जम्मा गर्यौ त.. भुन्टीले बाबा तिर हेर्दै सोधिन.. बाबा यो मेरो साच्चैको आमा हो र ... भुन्टीले बोलेको सानीले सुनिरहेकी थिइन् । फोनमा त्यति लामो र मीठो कुरा गर्ने छोरीले आफूलाई साच्चैको आमा हो र भनेको कुराले उनको मनमा ठूलो चोट पर्यो । प्रदिपले यो कुरा सानीले नसुनोस भनेर कुरा अन्ततिर मोडदै थिए । भुन्टीले आमातिर हेर्दै भनिन हजुर मेरो साच्चैको आमा हो भने अलिकति यता आउनु न.. म एकैछिन काखमा बस्छु नि....। सानीको मुटुमा भक्कानो परेर आयो, धैर्यताको सिमाना नाघ्यो । कम्प्यूटरको की बोर्डमा टाउको राखेर घुक्क घुक्क रुन थालिन । मोवाइलमा कसैको एस.एम.एस आयो । दिदी टिका लगाउने समय भइसक्यो, छिटो आउनु ===== टाउको उठाएर हेर्दा भुन्टी र प्रदिप हिडिसकेका रहेछन् । परदेशीहरुको लागी यी चाडहरु नआएपनि हुने नि भन्ने सोच्दै मन भरि पिडा र आँखा भरि आँसु लिएर कोठा तिर लागिन

Tuesday, September 7, 2010

सानुको तीज (कथा)--सीता बराल









सानु आज धेरैबेर रोइरहिन । जीवनको लामो भोगाइका उतारचढावहरु पार गर्दै आउदा आज ठूलो चोटको महशुस भयो । कुनै शिकारीको हातबाट बच्न सफल भए जस्तै उनको शरिर लगलग कापीरहेको छ । समाजमा नराम्रा मानिसहरुको संख्या धेरै देखिए पनि राम्रा मानिसहरु पनि छन् उनीहरुलाई आफूले चिन्न सक्नुपर्छ । परदेश त झन हामी सबै ठाउबाट आएकाहरुको ठूलो समाज नै हो । परदेशमा रहेर समाजमा भएको इज्जत र परिवारको सुन्दर भविष्य नै आफ्नो जीवनको उद्धेश्य सम्झेर अगाडी बढ्ने महिलाहरु लाई सल्लाह र सहयोग गर्ने मानिसहरु धेरै रहेछन् भन्ने सम्झेकी सानुलाई माया गर्ने रनेले यति नराम्रो दृष्टिले हेर्छन भन्ने कहिल्यै सोचेकी थिइनन् । मुटुमा भक्कानो परेर स्वर दबाउन खोज्दा खोज्दै आवाज बाहिर निस्कन्छ । दाइ हजुरले मलाई के सोच्नु भयो? मेरो कुनै ब्यवहारमा केही गल्ती भयो..... ? मेरो पहिरनमा कुनै उत्ताउलो पन देख्नु भयो.... वा म स्वतन्त्र संग बोलेका शब्दहरुमा मेरो त्यस्ता चाहनाहरु भेटनु भयो.....? मेरो केही गल्ती भएको थियो भने भन्नुहोस् । म सुधार्ने छु । गल्ती नै थिएन भने किन हजुरले मेरो चरित्रमा दाग लगाउन खोज्दै हुनुहुन्छ? परदेशमा रहेकी चेलीलाई संरक्षण दिनु त कता हो कता, सानो सहयोग गरे भन्दैमा हजुरले त्यसको मूल्य मबाट चाहनु हुन्छ र मलाई यस्तै किसिमका मानसिक पिडाहरु दिनुहुन्छ भने म यहा एक दिन पनि बस्दीन । आफ्नै देशमा गएर दुःख गरेर खान्छु । एकपटक हजुरले मेरो ठाँउमा आफ्ना दिदीवहिनीहरु राखेर हेर्नुहोस यो अवस्थामा हजुरले के गर्नु हुनेथियो ? सानुले रुदै रुदै यि कुराहरु भनिरहदा रने टाउको निहुराएर वसीरहेका थिए ।







सानु परदेश जाने कुरा गर्दा साथीहरुले आफ्नै संस्कारमा बसेका हामीहरुलाई स्वतन्त्र मुलुकमा परिवार विना बस्न धेरै गाह्रो हुन्छ भनेका थिए । उनले यि कुराहरुलाई वास्ता नै नगरि केटी मानिसको इज्जत उनीहरुको आफ्नै हातमा हुन्छ । आफ्नो इच्छा विना जवरजस्ती त पक्कै पनि कसैले गर्न सक्दैनन भन्ने सम्झीन । सानुलाई आफु हिड्ने बेलामा सबैले सम्झाएका कुराहरु ताजा भएर आँखा वरिपरि घुमीरहे । आफ्ना बच्चाहरुको सुन्दर भविष्य बनाउने लक्ष्य पुरा गर्ने समय सम्मको लागी छुटिनु परेको त्यो रातमा उनका श्रीमानले “तिमी धेरै शाहस बोकेर परदेश लाग्दै छौं । तिम्रो शाहस टूलो भएपनि आखिर नारी शरिर नै हो प्रकृतीले नै कमजोर बनाएको हुन्छ । परदेशमा आफ्नै नेपाली दाजुभाइसंग संरक्षण छैन भन्ने धेरै सुनिएको छ । आफू कसरी बच्ने भन्ने सबै तिमीलाई थाहा नै छ होसपूर्वक काम गर्नु है....? तिमीलाई कुनै त्यस्तो ठूलो आपत परेछ भने समाजमा बेइज्जत होला की भन्ने सम्झेर आफूलाई परेको अन्याय कहिल्यै नसहनु । अन्याय सहनु ठूलो पाप हो” भनेका थिए । उनलाई श्रीमानले भनेका कुराहरु याद आयो । सानुले रने तिर हेर्दै हजुरले मलाई एउटा अवला नारी सम्झेर जुन काम गर्न खोज्नु भयो । यसको सजाय हजुरले भोग्नु नै पर्छ । यहा पनि न्याय दिने संघ संस्थाहरु होलान् । म त्यहा गएर न्याय माग्छु । भविष्यको सुन्दर सपनाको कल्पनासंगै आफ्नो उद्धेश्यमा अडिग् भएका दिदीवहिनीहरुलाई हजुर जस्तै नराम्रो नजरले हेर्ने पुरुषहरुबाट यस्ता अन्यायहरु कहिल्यै सहनु नपरोस् । सानुले आफ्नो न्यायको लागी संघसंस्थामा जाने कुरा गरेपछि रनेलाई अलि डर लाग्यो। आफ्नो उदेश्य पुरा हुने बेलामा उनीसंगको गलत व्यवहारका कारण भोग्नुपर्ने कानुनी ब्यवस्थाको बारेमा उनलाई थाहा थियो । रनेको पनि त आफ्नै किसिमको समाजको इज्जत, बालबच्चा र उनकै पर्खाइमा बसेकी श्रीमती थिइन । रनेले हात जोड्दै सानो स्वरमा बहिनी हिजो बेलुका अलि धेरै भएछ, के भयो भन्ने थाहा नै पाइन । धेरै नशामा भएर तिमीलाई नराम्रो व्यवहार गर्न गएकोमा म क्षमा चाहन्छु । मलाई तिमीले जे सजाय दिएपनि म भोग्न तयार छु । हिजो मिठो मानीमानी मस्त नशामा भएका मानिस आज त्यही चिजलाई दोष दिदै आफू निर्दोष बन्न खोज्ने कस्तो सोचाई ..... । यस्ता मानिसलाई के भन्ने । सानु रनेसंग केही बोल्न चाहिनन् । सरासर कोठामा गएर कपडा फेरिन । चेलीहरुलाई प्रेमपुर्वक आफ्नो घरमा ल्याएर बर्ष भरिको थकाई, मनका गुनासा र पिडाहरु गीतको लयमा गाएर हल्का गराउने तिजको रमझम देश भरि नै चलिरहेको बेला यो विरानो मुलुकमा सानु भने आफ्नो अस्तित्वको लागी यहा रहेका संघसंस्थाहरुसंग न्याय माग्न जादैछन् ।



समाप्त

Saturday, September 4, 2010

यस्तो जाल बुन माया [गजल] >सजना गुरुङ, हाल इजरायल

हामीबीच सम्बन्धको यस्तो जाल बुन माया


नसकियोस नाप्ना अनी नसकियोस् छुन माया ।



बिश्बाशका दीप कतै निभ्ना गए मबाट

अन्धेरिमा ज्योति छर्नु भै तिमी जुन माया ।



प्रेम सधैं फैलियोस दुवोसरी जीबनमा

एकअर्कालाई दोष लाउदै नपरोस है रुन माया ।



तिम्रो आत्मा रहेसम्म यो आत्मा नी रहिरहोस्

जन्मो जन्म यसैगरि पाउँ तिम्रै हुन माया ।



हामी बीच सम्बन्धको यस्तो जाल बुन माया

नसकियोस नाप्ना अनी नसकियोस् छुन माया