गाउँमा जीबन असहज भो, बाध्यताले खाडी आएँ
प्राण प्यारा आफन्तलाई, सम्झि रुन छाडी आएँ ।
उता काफल पाक्यो होला, चरी यता नाच्नु पर्ने
चुलबुले सब सपनाहरु, देउरालीमा गाडी आएँ ।
यता सुन फल्छ भन्ने, मृगतृष्णा पछि लाग्दै
प्रणयको पोथरालाई, पैतालाले माडी आएँ ।
उतै शितल उपबन, उखरमाउलो मात्र यता
खुला आकाश चहार्ने म, निसासिदो झाडी आएँ ।
सिंगो मान्छे रहुँ भन्ने, हृदयको चाहना हो
नसकेर 'भीम'को मन, तोला मासा बाँडी आएँ ।

No comments:
Post a Comment