Sunday, November 28, 2010

बिचरा हरि > - सीता बराल लिस्वन, पोर्चुगल

जब मनभरि कुराहरु खेलेर छटपटि हुन्छ हरि वियर पिएर डंग भुईको ओछ्यानमा पल्टन्छन । उसले यसरी टन्न वियर पिउन लागेको धेरै भएको छैन । भोली विहान देखि हिजोको जस्तै एकै नासको उहि दैनिकी सुरु हुने गरेको छ । विहानको चियाको चुस्कीसंग आजको दिन काम खोज्न कहाँ जाने भन्ने पिर पर्न थाल्छ । अरु साथीहरुको जस्तै कहानी र पिडा छ उसंग ।  कामको लागी साथीहरुलाई नभनेको र नपुगेको ठाँउ कुनै छैन तर हातमा लाग्यो शुन्य भएको छ । काम खोज्न जाँदा तलुवा फाटेका दुई तीन जोर जुत्ता फाल्न नसकेर ढोकाको पछाडी तिर राखेका छन् ।
     विहान पखको चिसो सिरेटोले हरिको निन्द्रा खुल्छ । विस्तारै टाउको उठाएर वरपर सुतेका साथीहरुलाई हेर्छन । कामबाट आएका साथीहरु थकाईले मस्त निदाएका हुन्छन् । हरि विस्तारै उठेर टेवलमा भएको चुरोटको बट्टा र लाईटर लिएर झयाल तिर जान्छन् । झ्याल बाहिर बस्ने ठाँउ नभएको हुनाले टाउको बाहिर निकाल्दै चुरोटको सर्को तान्छन् । कोठाको सिधा कालेचोकको उकालोमा पर्ने पर्खालमा धेरै भाषामा केही लेखेर रंगाइएको छ । त्यसलाई दुई तीन जना फोटोग्राफरले कोण मिलाएर आफ्नो क्यामरामा कैद गर्न खोज्दैछन् । धेरै भाषामा लेखिएको त्यस पर्खालको एक लाइनमा लिस्वनः सहनशिलताको शहर भनि लेखिएको स्पष्ट देखिएको छ । चुरोटको लामो सर्को तान्दै हरि मनमनै सोच्छन् । धन्य छ हामी नेपालीहरुको सहनशिलता । उद्धेश्य प्राप्ती नहुने बेलाको अन्तिम घडीसम्म संघर्ष गरिरहन्छौ । हुन त यो पोर्चुगलमा सहनुबाहेक अरु विकल्प के नै छ र ? यो कुनै व्यक्तीको गुण नभई बाध्यता बनेको छ यहाँ । दुःखलाई सुखमा बदल्ने सपना देखेर परदेशिनु भनेको झन निस्कनै नसक्ने दुःखको दलदलमा फस्नु रहेछ भन्ने अनुभव हुन्छ हरिलाई ।  
    झ्यालबाट आएको हावाले टेवलमा भएको  मेट्रो-पोष्ट पत्रिका पल्टाउछ । उनलाई अस्ति भरखरै मात्र घोडा चोकमा निकै सनसनीपूर्ण बनाएको त्यस पत्रिकामा भएको भनिएको झुटा समाचारको याद आउछ । नेपाली समाजमा हुने गरेका नयाँ समाचारहरु घोडा चोकबाटै थाहा हुने गरेका छन् । लिस्वनमा घोडा चोक हाम्रै गाँउघरको चिया पसल भन्दा फरक छैन जस्तै लाग्छ । त्यही ठाँउबाट यो झुटा समाचार फैलाइएको थियो । पछि बुझ्दै जादा कामको कन्ट्याक मिलाइदिए वापत कमिसन खान पल्केका दरिद्र सोचाइ भएकाहरुले यस्तो समाचार फैलाएका रहेछन् । घोडा चोकमा यो समाचार सुनेर हरिका साथी प्रकाश निकै बेर रोएका थिए । हरिले यि सबै दुःखका कुराहरु विर्सन खोज्छन् र बाहिर निस्कन्छन् । चोकको केही पर गल्लीमा भएका धेरै रेष्टुरेन्टहरुमा काम सोध्न जान्छन् । खोज्दै जाँदा एउटा नेपालीको पसल भेटीन्छ । उनलाई मनमा ढुक्क हुन्छ । कमसेकम नेपालीहरुलाई त हामीहरुको दुःख थाहा हुन्छ । दुख बुझेर काम दिए भने बाँकी सबै मिलाउदै जानु पर्ला भन्ने सम्झदै कामको बारेमा सोध्छन् । धेरै साथीहरु पुगेर फर्कीसकेका कुरा त्यही कसैबाट थाहा हुन्छ । उनले अरु केही नसोधी छेउमा उभिएका नेपालीको हात समातेर दाई मलाई पैसा चाहिदैन काम दिनुहोस्, जस्तो पनि गर्छु भन्दै चिच्याउछन् । त्यहीबेला कसैले हरिको गालामा झापड लगाउछन् । झस्केर हेर्दा बेलुका टन्न पियर सुतेका हरि, छेउमै सुतेका श्यामदाइको हात समातेर चिच्याई रहेका थिए ।


Wednesday, November 10, 2010

टुक्रा टुक्रा मन ।> भीम के सी कमल


गाउँमा जीबन असहज भो, बाध्यताले खाडी आएँ
प्राण प्यारा आफन्तलाई, सम्झि रुन छाडी आएँ

उता काफल पाक्यो होला, चरी यता नाच्नु पर्ने
चुलबुले सब सपनाहरु, देउरालीमा गाडी आएँ

यता सुन फल्छ भन्ने, मृगतृष्णा पछि लाग्दै
प्रणयको पोथरालाई, पैतालाले माडी आएँ

उतै शितल उपबन, उखरमाउलो मात्र यता
खुला आकाश चहार्ने , निसासिदो झाडी आएँ

सिंगो मान्छे रहुँ भन्ने, हृदयको चाहना हो
नसकेर 'भीम'को मन, तोला मासा बाँडी आएँ

Monday, November 8, 2010

देवकोटाको मुनामदन र हामी प्रवासी

-सीता बराल
हालः पोर्चुगल, लिस्वन

हे मेरी प्यारी वचन तिम्रो गढ्दछ मनमा
के गर्छ्यौ मुना यो सास अडछ त्यै पापी धनमा ।।

यो हरफ लक्ष्मीप्रसाद देवकोटाद्वारा झ्याउरे लयमा लेखिएको मुनामदन खण्डकाब्यबाट लिइएको हो । मुनाले मदनलाई अस्ताउन लागेको जुन सरह की बुढी आमा र आफूलाई एक्लै पारेर पैसाको लागी भोट नजानु भनि विन्ती गर्दा मदनले बुढीआमाको पाटी र धारा बनाउने इच्छा, थोत्रो घरको जग बलियो बनाउन र मुनाको हातमा सुनको बाला लगाइदिने इच्छा पुरा गर्न पैसा नै चाहिने भएको हुँदा थोरै समयको लागी मात्र भोट गएर पैसा कमाएर ल्याउने र बाँकी जीवन सुखसंग विताउने कुरा यस हरफमा गरेका छन् । प्यारी मुना तिमीले भनेका सबै वचनहरु मेरो मनमा गढेका छन् तर आखिर सबै इच्छाहरु पुरा गर्न पापी धनको नै आवश्यकता पर्ने हुनाले तिमीले मलाई भोट जान नरोक भनि मुनालाई सम्झाएर मदन भोट लाग्छन् । भोटको चिसोले मदन जंगलको बिच बाटोमा विरामी पर्छन । साथीहरुले उनलाई एक्लै त्यही छाडेर जान्छन् । मध्यरातमा मदन छटपटाउदै चिच्याएको नजिकै गाउको भोटे दाइले सुन्छन र के कराएको भनि हेर्न जादा विच जंगलमा एक्लै मानिस छटपटाइरहेको देखेर मदनलाई लिएर आफ्नो घरमा लगी घरेलु उपचार गराई निको पार्दछन् । यता जवान मुनालाई आफ्नो बनाउने सोच लिएर गाउको एउटा गुण्डा उनको पिछा गर्न थाल्दछ । गुण्डाले मदनको बारेमा नराम्रा कुराहरु सुनाउछ तर मुनाले विश्वास गर्दिनन् । मुनाको मन परिवर्तन गर्न नसक्ने भएपछि उसले अन्तिम उपाय स्वरुप मदन मरेको नक्कली चिठी पठाउछ । त्यो चिठी पढेपछि मदनको नराम्रो खवरले मुना मुर्छा पर्छिन र नब्यूझदै संसारबाट बिदा लिन्छिन भने बुढी आमा अर्धचेतन अवस्थामा मदनलाई कुरीरहेकी हुन्छिन । यता मदन भोटे दाइको घरमा उपचार पाएर निको हुन्छन् । एकदिन बिहान घर नजिकै काग कराउछ । काग कराएको शुभ संकेत होइन भनेर भोटे दाइसंग विदा मागेर मदन घर तिर लाग्छन् । घर पुग्दा प्राणप्यारी मुनाको मृत्यु भैसकेको हुन्छ भने उनी आएको खवर सुनेर आमाको पनि मृत्यु हुन्छ । भोट गएर पैसा कमाएर सुन्दर घर र परिवारसंग सुखसंग बस्ने मदनको सपना सिसाको घरझै फुट्न पुग्छ ।
     केही पैसा कमाएर घरको जग बलियो पार्ने र सुखसंग परिवारसंग बस्ने कल्पनामा परदेश लाग्नुपर्ने हामीहरुको अवस्थामा अझै सुधार हुन सकेको छैन । हाम्रा धेरै मदनहरु भरखरै यौवन अवस्थामा प्रवेश गर्दै गरेकी मुना, अस्ताउन लागेकी बुढी आमा छाडेर चुहुने छानो भएको थोत्रो घर सजाउने सपना सहित परदेश लागेका छन् । मदन परदेश लागेको बेलामा मुनाको जवानीमा आँखा लगाई आफ्नो बनाउन अनेक नाटक रच्दै मुनाको मृत्यु हुने अवस्थासम्म पुर्याउने नराम्रो विचारका गुण्डा मानिसहरु पनि हाम्रो समाजमा रहेका छन् । परदेशमा मदनलाई बीच जंगलमा छाड्ने स्वार्थी साथीहरु प्रसस्त भएपनि भोटे दाइ जस्ता राम्रा मन भएका मानिसहरु पनि छन् । समाजमा रहेका सम्पूर्ण सामाजिक आरोह अवरोहको कथा बोकेको यो गिती खण्डकाव्य मुनामदन हामी परदेशीहरुको लागी त झनै प्रिय लाग्दछ । यस काब्यमा भएका मुनामदनका वार्तालापहरुले निकै मन छुन्छन् ।
       विशेष गरि परदेशीएका नारीहरुलाई समाजमा हेर्ने नकरात्मक सोचाइमा अझैपनि परिवर्तन भएको छैन । घरको संघार काटेर परदेशमा संघर्ष गर्नु पक्कै पनि सजिलो छैन । पारिवारिक कर्तव्य सहित सुनौलो भविष्यको गन्तब्यमा हिडिरहेका नारीहरुलाई समाजमा भएका नराम्रा मान्छेहरुद्वारा कुनै न कुनै किसिमबाट हतोत्साह गराउने अनेकन समाचारहरु सम्प्रेषण हुने गरेका छन् । यसरी सुन्दर भविष्य निर्माण हुदै गरेको घरको जग कतै भत्कीने त होइन भन्ने शंका हुन थालेको छ । यस मुनामदन खण्डकाव्यमा भएका भोटे दाइको जस्तै सफा दिल हाम्रो समाजमा हुने हो भने कुनै न कुनै आधारमा मुनामदन जस्तो विछोड सहनु पर्ने थिएन । देवकोटाको मुनामदन खण्डकाब्यको भावार्थको अभिप्रेरणाबाट देश तथा विदेशमा रहने मुना र मदनहरुले समाजमा रहेका राम्रा र नराम्रा मानिसहरुको पहिचान गर्न सकुन् र उनिहरुद्वारा रचिएका कुत्सित योजनाहरुले परिवार तथा समाजमा कुनै असर नपरोस । पारिवारीक विश्वासमा वृद्धी हुदै जाओस । देश तथा विदेशमा रहनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीवहिनीहरुलाई दिपावलीको शुभ कामना ।
                              समाप्त ।
(महाकबि देबकोटाको जन्मजयन्तीको सन्दर्भमा ।)